प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको देशभर आधाघन्टा चक्काजाम

263

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकट (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी) अनेरास्ववियूले बुधबार देशभरका क्याम्पस अगाडि आधाघन्टा चक्काजाम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम’ भन्दै आन्दोलनरत अनेरास्ववियूले बुधबार चक्काजामसहित विरोध प्रदर्शन गरेको हो ।

बुधबार बिहान सानोठिमी क्याम्पस अगाडि आयोजित चक्काजाम कार्यक्रममा बाेल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले असंवैधानिक ढंगले अवरुद्ध पारिएको संसद सुचारू नगरिँदासम्म आन्दोलन नरोकिने बताए । बस्नेतले भने, “निर्वाचित तानाशाहको रुप धारणा गरेका ओली संविधानको भक्षक बन्दै गएका छन् ।”

बस्नेतले प्रधानमन्त्री स्वयं आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा कहीँ नभएको जात्राको संज्ञा दिए । उनले भने, “सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैँ पञ्च र्यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएका छन् ।” प्रधानमन्त्री ओली राष्ट्रिय ढुकुटी रित्त्याएर पञ्चभेला गर्न लागेको बस्नेतले आरोप लगाए ।

अनेरास्ववियूले उपत्यकाको आरआर, शंकरदेव, मिनभवन, सानोठिमी, अस्कल, कीर्तिपुर, पशुपति, पाटन, ताहाचल, पुल्चोक, थापाथली, ग्रामिण आदर्श लगायतका कलेज अगाडि आधाघन्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...