१९औँ संस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि

134

पोखरा । १९औँ संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । उक्त प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत १७ गते देखि चैत २८ गतेसम्म हुने भएको सहारा क्लबले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आयोजकलाई प्राप्त भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । “खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ” भन्ने उद्येश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहारा क्लब पोखरासहित १२ टिम सहभागी हुने तयारीमा जुटेको अध्यक्ष थापाले जनाए ।

गत वर्षको विजेता मनाङ्ग मर्स्याङ्गदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो । “आत्मा साक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौँ” भन्ने उद्येश्यका साथ विसं २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरणपोषणमा खर्च गर्दै आएको छ ।

प्रतियोगितालाई पहिलो संस्करण देखिनै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको क्लबले जनाएको छ ।

पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखेको छ । उक्त प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको उनले जनाए । ११ दिन सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न भने १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ ।

यस प्रातियोगिता क्याराभान गोल्ड कपसहित २० वर्ष देखि निरन्तर सञ्चालन भएको हो । उक्त प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ(सुरज)ले बताए । तेश्रो व्याचको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...