एपिएफलाई ३३ रनले पराजित गर्दै आर्मी बन्यो पहिलो पटक च्याम्पियन

प्रधानमन्त्री कप-२०७७

261
  • भाइरस

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सशस्त्र प्रहरी बल (एपिएफ) टोलीलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । चौथो पटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि चुमेको हो ।

२ सय १२ रनको मध्यम लक्ष्य पछ्याएको एपिएफले ४१.३ ओभरमा १ सय ७८ रन मात्र बनाउन सक्यो । एफिएफका आसिफ शेखले ६१ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन ।

यस्तै, सन्दीप जोराले २९, शंकर राणाले २१, सुमित महर्जनले १९ तथा सुवास खकुरेलले १४ रनको पारी खेले ।

आर्मीका विक्रम सोब, शाहब आलम र जितेन्द्र मुखियाले समान ३-३ तथा सुशन भारीले एक विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेले । १ सय २ बल खेलेका हरिले ६ चौका प्रहार गरे । यस्तै, राजेश पुलामीले २८, शाहाब आलमले अविजित २५ रन जोडे ।

निरन्तरको अन्तरालमा विकट गुमाएको आर्मीका लोकेश बमले १५, शुशान भारी र रोहित पौडेलले समान १३–१३ तथा अनिल मण्डल र विक्रम सोबले ११–११ रन बनाए ।

एपिएफका अविनाश बोहराले ४ तथा किशोर महतोले २ विकेट लिए । एपिएफका बलरहरुले २३ रन (१२ वाइड र ११ लेगबाइ) अतिरिक्त दिए ।

Share This:
सम्बन्धित खबर
Loading...