प्रधानमन्त्री कप : बागमतीमाथि आर्मीको सहज जित, फाइनलमा एपिएफसँग भिड्ने

174
  • भाइरस

काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौथो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै एपिएफसँगको भिडन्त पक्का गरेको हो ।

२ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती प्रदेशले ४०.२ ओभरमा १ सय ३५ रन मात्र बनाउन सक्यो ।

सुरुवातदेखि नै विकेट गुमाउन थालेको बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ४७, विपिन आचार्यले २३, नन्दन यादवले २२ र आदिल खानले १० रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेन ।

बागमतीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेज्द्र मुखियाले ४ तथा विक्रम सोब र शुशान भारीले समान ३-३ विकेट लिए ।

यसअघि, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

खराब सुरुवात गरेको आर्मीका तीन खेलाडी १७ रनको स्थितिमा आउट भएका थिए । ओपनरद्वय हरि चौहान ३, अनिल मण्डल २ तथा रोहित पौडेल शून्य रनमा आउट भए ।

चौथो विकेटका लागि ५६ रनको अर्धशतकीय साझेदारी गरेका भीम शार्की ४०, लोकेश बमले २३ रनको पारी खेले ।

यस्तै, विक्रम सोबले ३५, विनोद भण्डारीले १० रन बनाए । आर्मीका राजेश फुलामीले सर्वाधिक ६५ रन जोडे । पुलामीले ९१ बल खेल्दै २ छक्का र ४ चौक प्रहार गरे । यसैगरी शुशन भारीले १६ रन बनाए ।

बागमतीका गौतम केसीले ५, विपिन आचार्य, नन्दन यादव, तिलक भण्डारी र रामनरेश गिरीले समान एक–एक विकेट लिए । बागमतीका बलरहरुले ३५ रन (२६ वाइड, ५ बाइज र ४ लेगबाइ) अतिरिक्त दिए ।

आर्मीले शनिबार उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) सँग भिड्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...