हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य

262

काठमाडौं । हिमालय एअरलाइन्स र यती एअरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक बिस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । एप्लिकेसन प्रोगामिङ्ग इन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

हिमालय एअरलाइन्स्ले हाल मध्य पूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्स्ले नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।

सम्झौताअनुसार दुबै एअरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्न, यात्रुहरुलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचको सहकार्य हिमालय र यती बीच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । “व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,” उनले भने । यस सहकार्यले व्यवसायलाई बढाएर राजश्वमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताए । उक्त सहकार्यले व्यवसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले उक्त समझदारीले दुबै एअरलाइन्सका यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताए । “हाम्रो सञ्जाल विस्तारको लागि हिमालय एअरलाइन्स्सँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ,” रिमालले भने ।

यती एअरलाइन्स र हिमालय एअरलाइन्सले व्यवसायका लागी नयाँ श्रोतहरु ल्याउन, यात्रुहरुका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ ।

साझेदारीले दुवै एअरलाइन्सको सम्भावित यात्रुहरुको लागि नविन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ । दुवै एअरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुहरुले यती एअरलाइन्स, तारा एअर र हिमालय एअरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यहरुमा चाहेअनुसारको उडान सेवा छनौट गरी फाइदा लिन सक्नेछन् ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...