“सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन”

230

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ ।

महाशाखाले काठमाडौं उपत्यको चक्रपथ तथा चक्रपथ बाहिर २६ स्थान र चक्रपथ भित्र ८ स्थान गरि बढी दुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गरेको छ ।

बढी दुर्घटना हुने ति स्थानहरुका सडकमा विशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाइएको छ । यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर अभियानहरू चलाइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनिकरण गर्न बढी दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाइ गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४ सय ३० थान राखिएको उनले बताए ।

एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सीता पम्प, खसिबजार, सीतापाइला उकालो, वाफल, सानो भर्याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पौष १३ गते बालकुमारी देखी सानेपासम्मका विभिन्न १३ स्थानमा २ सय थान “Soft PVC Traffic Cone” राखेको थियो । ती स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडि ४७ वटा दुर्घटनामा परि ३ जनाको मृत्यु र ३१ जना घाइते भएकोमा ट्राफिक कोण र सडक बत्ति जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाइते भएको जनाएको छ ।

महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको विश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिँदै अन्य दुर्घटना सम्भावित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...