प्रधानमन्त्री कप : अपराजित रहँदै एपिएफ फाइनलमा, पुलिस ३० रनले पराजित

231
  • भाइरस

काठमाडौं । साविकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बल(एपिएफ) चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली पुलिसलाई ३० रनले पराजित गरेको हो ।

२ सय ४ रनको मध्यम लक्ष्य पछ्याएको पुलिसले ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको पुलिसका सुरुवाती तीन खेलाडी सस्तैमा आउट भएपछि टोली संकटमा परेको थियो । अमित श्रेष्ठ ८, सुनिल धमाला ३ तथा कुशल भुर्तेल शून्य रनमा आउट भए । पुलिसका पवन सर्राफले ४० रन बनाउँदै पारीलाई उकास्ने प्रयास गरे ।

यसैगरी, राशिद खानले ३४, दीपेन्द्र सिंह ऐरीले ३३ तथा आरिफ शेखले १६ रन जोडेपनि जितलाई पर्याप्त भएन ।

पुलिसलाई सस्तैमा समेट्ने क्रममा एपिएफका भुवन कार्कीले ४, अविनाश बोहरा, शरद भेषवाकर र कमल ऐरीले समान दुई दुई विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको एफिएफले ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो ।

एपिएफका शंकर राणाले ४४, भुवन कार्कीले ४२, सुवास खकुरेल र कमल ऐरीले १९-१९ तथा शरद भेषवाकरले १८ रनको योगदान दिए ।

पुलिसका आरिफ शेखले ३, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २-२ विकेट लिए ।

प्रतियोगिताको फाइनलमा पुगेको एपिएफ अपराजित टोली हो । लिग चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनमा स्थान बनाएको थियो ।

एपिएफले भोली हुने बागमती र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...