आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानद्वारा क्लिन स्विप

145

अबुधाबी । आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको तेस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।

अबुधाबीस्थित शेद जायद स्टेडियममा भएको अन्तिम खेलमा आयरल्यान्डलाई ३६ रनले पराजित गर्दै तीन खेलको सिरिज अफगानिस्तानले क्लिन स्विप गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ९ विकेटको नोक्सानीमा २ सय ६६ रन बनाएको थियो । निरन्तरको अन्तरालमा विकेट गुमाएको अफगानिस्ताको पारी उकास्नका लागि तल्लको क्रमका खेलाडी राशिद खानले सर्वाधिक ४८ रनको पारी खेले ।

यसैगरी, कप्तान अस्घर अफ्घानले ४१, गुल्बादिन नाइबले ३६, मोहम्मद नाबीले ३२, रहमानुल्लाह गुर्वाजले २२ रनको योगदान दिए ।

२ सय ६७ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ४७.१ ओभरमा समेटिन पुग्यो । आयरल्यान्डका पौल स्टर्लिङले शतकीय पारी खेलेपनि जितका लागि सम्भव भएन । स्टर्लिङ १ सय १९ बलमा ६ छक्का र ९ चौकाको मद्धतमा १ सय १८ रन बनाए ।

यस्तै, ह्यारी टेक्टरले २४, लोर्कान टुकरले २२ तथा सिमी सिंहले २० रन जोडे ।

आयरल्यान्डलाई कम स्कोरमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खानले ४, मुजीव उर रहमानले २ तथा नवीन उल हक र मोहम्मद नाबीले समान एक–एक विकेट हात पारे ।

जितसँगै अफगानिस्तानले आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको छ । यसअघि भएको खेलमा अफगानिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गत अफगानिस्तान ३० अंक जोड्दै चौथो स्थानमा रहेको छ । तालिकाको शीर्ष स्थानमा अष्ट्रेलिया ४० अंकसहित रहेको छ । यस्तै, बंगलादेश दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...