- भाइरस
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब विजयी भएको छ । सोमबारको खेलमा प्रदेश नम्बर दुईलाई ४ विकेटले पराजित गर्दै पुलिस समूह बीबाट उपविजेता बन्दै सेमिफाइनमा प्रवेश गरेको छ ।
प्रदेश नम्बर दुईले दिएको १ सय ७० रनको सामान्य लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
पुलिसको जितमा अनिल शाहले अविजित ४७, कुशल भुर्तेलले ४३, दीपेन्द्र सिंह ऐरी र अमि श्रेष्ठले समान १७–१७ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।
प्रदेश दुईका विवेक यादव र कुमार थापाले समान ३–३ विकेट लिए ।
मुलपानीस्थित मुलपानी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश दुईले निर्धारित ४७ ओभरमा १ सय ६९ रन बनाएको थियो । ४७ ओभरमा छोट्याइएको खेलमा राम्रो सुरुवात गरेपनि प्रदेश दुईका हरिशंकर शाहले ५३, हिमान्शु दत्तले १६ रन जोडे ।
प्रदेश दुईका मध्यक्रमका खेलाडीहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेन । रवि सिंह र विशाल शुस्लिङले समान १२–१२ तथा तल्लोक्रमका आदिल अन्सारीले १५ तथा सुरज कुर्मीले १३ रन बनाए ।
पुलिसका ललित राजवंशीले ४ तथा सागर ढकालले दुई विकेट हात पारे ।
प्रदेश दुई माथिको जितसँगै पुलिस समूह बीबाट उपविजेता बन्दै सेमिफाइनमा पुगेको छ । यसअघिनै बागमती प्रदेशले सेमिफाइनमा स्थान बनाइसकेको थियो । लुम्बिनी, सुदूरपश्चि र प्रदेश दुई क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सेमिफाइनमा पुलिसले अर्को विभागीय टोली एपिएफको सामना गर्नेछ भने बागमतीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।