प्रहरीले शासकको रुपमा होइन सेवकको रुपमा काम गर्नुपर्छ :अतिरिक्त महानिरीक्षक कार्की

195

विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले प्रहरीले शासकको रुपमा होइन सेवकको रुपमा काम गर्नुपर्ने बताएका छन् । युएनओपिएसको सहयोगमा नव निर्मित इलाका प्रहरी कार्यालय रानी विराटनगरको कार्यालय भवन, आवास र भान्सा घरको उदघाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन् ।

इलाका प्रहरी कार्यालय रानीको हाता भित्र सोमबार बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै उनले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन सँगसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मन समेत गरे ।

कार्यक्रममा बोल्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोषहरि निरौलाले उचित बासस्थानको भरपर्दो व्यवस्था बिना नै काम कारबाही गरिरहेको इलाका प्रहरी कार्यालय रानीले सुरक्षित बासस्थान प्राप्त भए सँगसँगै अब थप हौशलाका साथ काम कारबाही गर्ने र सीमावर्ती क्षेत्रमा हुने विविध अपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँगै नागरिक सेवामा अब विगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास व्यक्त गरे ।

२४ सै घन्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोश र उर्जाका साथ प्रहरी काम कारबाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

युएनओपिएसको सहयोगमा साँढे २ तले कार्यालय भवन तथा आवास गृह र भान्सा घर ५ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, युएनओपिएसका प्रमुख सल्लाहकार एवं पूर्व प्रहरी नायव महानिरीक्षक कुमार कोइराला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, विभिन्न महिला सञ्जाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...