प्रधानमन्त्री कप : विभागीय टोलीबीचको भिडन्तमा एपिएफले बाजी मार्‍यो

240
  • भाइरस

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दुई विभागीय टोलीबीचको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले बाजी मारेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले २ बल बाँकी रहँदा अलआउट हुनअघि २ सय ४० रन बनाएको थियो ।

मध्यम सुरुवात गरको एपिएफका लागि सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर रौटेलाले २६, शरद भेषवाकरले २४, बशन्त रेग्मीले २० रनको योगदान दिए । आर्मीका बलरहरुले अतिरिक्त ३९ दिएका थिए ।

आर्मीका हरि चौहानले सर्वाधिक पाँच विकेट लिए भने शाहाब आलमले २ तथा शुशान भारी, बिक्रम सोब र आकाश चन्दले समान एक–एक विकेट हात पारे ।

२ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले ८ विकेटको क्षतिमा २ सय ३८ रन मात्र बनाउन सक्यो ।

आर्मीका तल्लोक्रमका ब्याट्सम्यानहरुले रन बनाएपनि टोलीलाई जित दिलाउन सकेन । आर्मीका अनिल मण्डलले सर्वाधिक ४५ रनको पारी खेले । यस्तै, राजेश पुलामीले ३३, रोहित पौडेलले ३०, विक्रम शोबले २८, भीम शार्कीले २७, लोकेश बले २१, तथा शाहाब आलम र आकाश चन्दले अविजित २० र १६ रन बनाए ।

एपिएफका कमल ऐरीले ३, भुवन कार्कीले २ तथा अविनाश बोहराले एक विकेट लिए ।

जितसँगै एपिएफ समूह ‘ए’ बाट समूह विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यसअघिनै दुबै टोली फाइनलमा प्रवेश गरिसकेकाले आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लागेको हो ।

समूह ‘ए’ मा रहेको कर्णाली प्रदेश, प्रदेश नम्बर एक र गण्डकी प्रदेशले समान एक–एक खेलमा जित निकाल्दै दुई अंकसाथ तालिकाको तेस्रो, चौथो र पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

Share This:
सम्बन्धित खबर
Loading...