बिबिएल २०२० : सिड्नी सिक्सर्समाथि होबार्टको रोमाञ्चक जित, सन्दीपले लिए २ विकेट

150

मेलबर्न । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत होबार्ट हुरिकेन्स विजयी भएको छ । आइतबारको दोस्रो खेलमा दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्समाथि ७ रनको रोमाञ्चक जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । होबार्टका ओपनरद्वय म्याथ्यू वेड र डिआर्ची सर्टले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेपछि टोलीले उक्त रन बनाएको हो ।

वेडले ४४ बल खेल्दै ३ छक्का र १० चौकाको मद्धतमा ८६ रन बनाए भने सर्टले ५२ बलमा ३ छक्का र ७ चौकासहित ७२ रनको योगदान दिए ।

बाँकी ४३ जोड्दा होबार्टका अन्य सात ब्याट्सम्यान आउट भए । उनीहरुमध्ये डेविड मलानले ११ रन बनाउँदा अन्यले दोहोरो स्कोर छुन सकेन ।

१ सय ८९ रनको चुनौती पाएको सिक्सर्सले पुरै ओभरमा १ सय ८१ रन मात्र बनाउन सक्यो । सुरुवाती तीन विकेट सस्तैमा गुमाएको सिक्सर्सका लागि मोजेस हेनरिक्स र जोर्डन सिल्कले चौथो विकेटका लागि ७० रनको साझेदारी गदै जित नजिक पुर्याएका थिए ।

सिल्क ७८ तथा हेनरिक्स ४३ रनमा आउट भए । यस्तै, जोस फिलिप्सले १२, दानिएल ह्युजले ११ र बेन ड्वास्वीसले नटआउट १० रन बनाए ।

होबार्टका नाथान एलिसले ३ तथा स्कट बोलान्ड र सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

बिबिएलमा १३औँ चरणको खेल सकिँदा पर्थ स्कोर्चर्स र सिक्सर्स समान ८ मा जितसहित ३२ अंक जोड्दै रनरेटका आधारमा पर्थ पहिलो र सिक्सर्स दोस्रो स्थानमा रहेको छ । यस्तै, २८ अंकसाथ एडिलेड स्ट्राइकर्स तेस्रो स्थानमा रहँदा थन्डर्स चौथो, होबार्ट पाँचौँ, ब्रिसबेन छैटौँ र स्टार्स सातौँ स्थानमा रहेका छन् ।

यसैगरी १३ खेलमा १३ अंक जोडेको रेनेगेड्स प्रतियोगिताबाट बाहिरिएको छ भने बाँकी एडिलेड, थन्डर्स, होबार्ट, ब्रिसबेन र स्टार्सले अन्तिम पाँचमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ । पर्थ र सिक्सर्सको स्थान सुरक्षित भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...