नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

207

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । शनिबार केन्द्रीय कर्यालय पेरिसडाँडामा स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको हो । बैठक दिउँसो १२ बजे बस्नेछ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार शनिबारको छलफलमा काठमाडौंमा शुक्रबारको विरोध प्रदर्शन सभाको समीक्षा र आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गरिएको छ । आइतबार बस्ने बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्ने बताइएको छ ।

आजको बैठकमा ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ । सोही बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गर्ने सम्भावना रहेको छ ।

ओलीलाई सो समूहले स्पष्टीकरण सोधेको थियो । ओलीले उनीहरुले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई पार्टीबाट हटाउन लागिएको एक नेताले बताए ।

उनलाई पार्टीको अनुशासन र विधि विधान विपरीत काम गरेको भन्दै तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको पत्र बालुवाटारको गेटमा बुझाएको थियो थियो ।

यसअघि नै केन्द्रीय समितिको बैठकबाट अध्यक्ष पदबाट हटाइ उनको स्थानमा माधव कुमार नेपाललाई चयन गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...