बिबिएल २०२० : मेलबर्न स्टार्सलाई पराजित गर्दै पर्थ शीर्ष स्थानमा उक्लियो

156

मेलबर्न । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिगबास लिग (बिबिएल) टी-२० अन्तर्गत पर्थ स्कोर्चर्स विजयी भएको छ । शनिबार सम्पन्न बिबिएलको ५०औँ खेलमा पर्थले मेलबर्न स्टार्सलाई ११ रनले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पर्थले निर्धारित २० ओभरमा १ सय ८२ रन बनाएको थियो ।

पर्थका ज्यासन रोयले ५४, कोलिन मुनरोले अविजित ४६, जोस इंग्लिसले २६, लियम लिभिङ्स्टोनले २४ तथा एस्टोन टर्नरले नटआउट १८ रनको योगदान दिए ।

१ सय ८३ रनको लक्ष्यलाई पछ्याएको स्टार्सले पुरै ओभर खेल्दै १ सय ७१ रन मात्र बनाउन सक्यो । स्टार्सका निक लार्किनले ७०, हिल्टोन कार्टराइट नटआउट २३, निक म्याडिन्सन र सेब गोट्चले समान १८-१८ तथा मर्कूस स्टोइनिसले १४ रनको जोडेपनि जित दिलाउन सकेन

पर्थका एण्ड्रयू ताइले २ तथा झाइ रिचर्डसन, ज्यासन बेहरेन्डोर्फ र फवाद अहमदले एक-एक विकेट लिए ।

जितसँगै पर्थ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको सिड्नी सिक्सर्स पर्थसँग ३२ अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । पराजित स्टार्स पाँचौँ स्थानमा झरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...