प्रधानमन्त्री कप : लुम्बिनीको प्रभावशाली जित, सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो

135

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश विजयी भएको छ ।

शनिबार मुलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेका हो ।

सुदूरपश्चिमले दिएको ६३ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनीले १४.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । लुम्बिनीको जितमा सौरभ खनाल र प्रकाश केसीले अविजित १८ तथा १७ रनको योगदान दिए । यस्तै, कृष्ण कार्कीले १५ रनको पारी खेले ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन बनाएको थियो ।

खराब ब्याटिङ प्रदर्शन गरेको सुदूरपश्चिमका दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । नारायण जोशी १७ तथा सन्तोस भट्टले ११ रन जोड्नुबाहेका अन्य खेलाडीको ब्याटिङ चल्न सकेन ।

ओपानरद्वय खडक बोहरा ७, सञ्जु दमई ८, अर्जुन साउद ४, अरुण ऐरी ७ तथा किरण ठगुन्ना ५ रनमा आउट भए । यसैगरी, सुरज तिरुवा, शेर मल्ल र विनोद लामा शून्य रनमा पेभलियन फर्किए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कृष्ण कार्कीले ४, अनिल खरेल र विक्रम भुसालले समान २–२ तथा दीपेन्द्र रावत तथा सन्दीप सुनारले एक–एक विकेट हात पारे ।

समूह ‘बी’ मा रहेको लुम्बिनी नेट रनरेटका आधारमा अघि रहँदै तालिकाको दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानमा शत प्रतिशत नतिजसहित बागमती प्रदेश रहेको छ । तीन खेलबाट दुई खेलमा जितसहित समान ४ अंक भएपनि नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहेको छ । यस्तै तालिकाको पुछारमा रहेको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...