प्रधानमन्त्री कप प्रदेश एकको सान्त्वना जित, कर्णाली ५९ रनले पराजित

176
  • भाइरस

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एक विजयी भएको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर एकले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो ।

२ सय १६ रनको मध्य लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५ ओभरमा १ सय ५६ रन मात्र बनाउन सक्यो । कर्णालीका विपिन रावलले ४७, निश्चल रावलले ३१, रविन्द्र शाहीले १८ तथा दिवान पुनले १४ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश एकका मनिष थापाले ५, दिपेश कँडेलले ३ तथा मनोज तामाङले २ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश एकले निर्धारित ५० ओभरमा २ सय १५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको प्रदेश एकका लागि पुछारका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा मध्यम योगफल बनाउन सक्यो ।

सिद्धान्त लोहनीले ६६, शुभंकर उराउले ३६, मिनाश थापाले २५ तथा श्रवण यादव र फिर्दोश अन्सारीले समान १७-१७ रनको पारी खेले ।

कर्णालीका रविन्द्र शाहीले ३, दिनेश अधिकारी र अनुज चुनराले समान २-२ विकेट लिए ।

समूह ए मा रहेको प्रदेश एक र गण्डकी प्रदेश प्रतियोगिताबाट चौथो र पाँचौँ स्थानमा रहँदै बाहिरिएको छ भने कर्णालीको सेमिफाइनलमा पुग्ने झिनो आशा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...