बिबिएल २०२० : ब्रिसबेनलाई ८२ रनले हराउँदै एडिलेड चौथो स्थानमा उक्लियो

118

एडिलेड । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तर्गत एडिलेड स्ट्राइकर्स विजयी भएको छ । बिहीबारको खेलमा ब्रिसबेन हिटलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै एडिलेड तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

एडिलेड ओवलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली एडिलेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।

एडिलेडका लागि एलेक्स क्यारीले शतकीय पारी खेले । ६२ बलको सामना गरेका क्यारीले ३ छक्का र १० चौकाको मद्धतमा १ सय १ रनको योगदान दिए ।

यस्तै, ज्याक विदराल्डले ३६, फिलिप साल्टले २६ तथा ट्राभिस हेडले २५ रन बनाए ।

१ सय ९८ रनको लक्ष्य पछ्याएको ब्रिसबेनले १७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।

ब्रिसबेनका मर्नुस लबुसचेनले २८, म्याक्स ब्रायन्टले २५, क्रिस लिनले १७, जोय डेन्लीले १५ तथा जिम्मी प्रिसनले १२ रन जोड्नुबाहेक अन्य खेलाडीेले दोहोरो अंकमा रन बनाउन सकेन ।

ब्रिसबेनलाई सस्तैमा समेट्ने क्रममा एडिलेडका वेस अगरले ४, पिटर सिडलले ३ विकेट लिए ।

ब्रिसबेनमाथि जित हासिल गरेसँगै एडिलेड तालिकको चौथो स्थानमा उक्लिएको छ । समान २४ अंक भएपनि रनरेटका आधारमा पछि पर्दै चौथो स्थानमा रहेको हो । अंक तालिकाको शीर्ष स्थानमा सिड्नी सिक्सर्स रहेको छ । यसतै, पर्थ स्कोर्चर्स दोस्रो र मेलबर्न स्टार्स तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी, सिड्नी थन्डर्स, होबार्ट हुरिकेन्स, ब्रिसबेन हिट र मेलबर्न रेनेगेड्स क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...