चैनपुरमा ओली निकट नेकपाको कार्यकर्ता भेला सम्पन्न

110
  • पदम बहादुर अधिकारी

चैनपुर । पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले मंगलबार सङ्खुवासभाको चैनपुरमा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेकपामा ओली समूह र प्रचण्ड–माधव समूह गरी दुई समूहमा देशभर विभाजित भएर संसद विघटनको औचित्य पुष्टि गर्ने उदेश्यका साथ अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण अभियान चलाइरहेको बेला सङ्खुवासभाको चैनपुरमा समेत नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका पूर्व सांसद राजेन्द्रप्रसाद गौतमले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउँदै निर्वाचन तोकिएको समयमा नै गराउन वर्तमान सरकार प्रतिवद्ध भएर दृढताकासाथ लाग्ने बताए ।

नेता गौतमले नेकपा पार्टी भित्र यतिखेर प्रतिनिधिसभा विघटन भएसँगै पार्टीको आधिकारिकता कसले पाउने भनी निर्वाचन आयोगमा वैधानिकताको दावी भइरहँदा नेकपा पार्टी र नेकपाको आधिकारिकता आफूहरुले पाउने बताए । भेलालाई नेता गौतमले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीको रहर नभइ बाध्यकारी भएको बताउँदै पार्टी कार्यकर्ताहरुलाई निर्धक्क भएर संगठनमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा नेकपाका अर्का केन्द्रीय सदस्य खड्ग राईले कार्यकर्ताहरु माझ वर्तमान समयमा नेकपाका प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरुले पार्टी भित्र देखिएको पद लोलुपताका कारण पार्टी विभाजन र संसद् विघटनको मुख्य कारण भएको उल्लेख गरे । कार्यक्रमलाई अर्का केन्द्रीय सदस्य एवं खाँदवारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले देश चुनावमा होमिएको हुँदा कार्यकर्ताहरुलाई संगठन निर्माणमा जुटेर पार्टीलाई अग्र रुपमा विजय गराउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी कार्यक्रमलाई नेकपाकै अर्का केन्द्रीय सदस्य एवं मादी नगरपालिकाका नगर प्रमुख विदुर सुब्बाले नेकपा पार्टीको वैधानिकता टुंगिन बाँकी रहेपनि अब एक ठाउँमा बस्ने अवस्था नरहेको हुँदा पार्टी निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने । भूगोल, जनसंगठन र प्रवासमा समेत माघभित्रै पार्टी संरचना बनाइसक्ने तयारी भएको समेत सुब्बाले खुलासा गरे । यसैगरी कार्यक्रमलाई नेकपाका अर्का केन्द्रीय सदस्य भविश्वर गुरुङले संसद् विघटनमा प्रचण्ड र माधव नेपाल मुख्य दोषी भएको औँल्याउँदै ‘अहिले जसरी संसद् विघटनमा बाह्य शक्तिको समेत हात रहेको बताउँदै त्यसबारे जनतालाई सही सूचना दिन पनि भेलाहरु आयोजना हुने गरेको बताए ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य टंक रोक्काले प्रचण्डले पार्टी एकताको भावना अनुरूप इमान्दारी नदेखाएका कारण वर्तमान सरकारका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले मध्यावधिमा जानु परेको बताए । नेकपा चैनपुर नगर कमिटीका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रम चैनपुरको दिल कुमारी सभाहलमा सम्पन्न भएको थियो ।

श्रोत : रेडियो सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...