बेलायतमा देखिएको ‘घातक’ नयाँ प्रजातिको कोरोना नेपालमा पनि भेटियो (विज्ञप्तिसहित)

110

काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिका कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण भेटिएकाे पुष्टि गरेको हो ।

नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट  नेपाल आएकाहरुमा सो भाइरस पुष्टि भएको हो ।

मन्त्रालयकाे निगरानीमा राखिएका ६ वटा नमूनामध्ये तीन नमूना पुस २७ गते हङकङ पठाइएको थियो । हङकङ पठाइएको नमूनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई इमेलमार्फत सोमबार प्राप्त भएको थियो । सो रिपोर्टअनुसार, दुई पुरुष र एक महिलामा नयाँ प्रजातिको कोरोना भाइरस रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बेलायतबाट नेपाल आएका २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिका कोरोना संक्रमण पुष्टि भएको हो । तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ देखिइसकेको छ भने ६७ वर्षीय पुरुषमा पोजेटिभ नै रहेपनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

बेलायतमा नयाँ प्रजातिको कोरोना संक्रमणका कारण दैनिक सयौँको ज्यान गइरहेको छ । बेलायतमा नयाँ प्रजातिको कोरोना संक्रमण फैलन थालेपछि नेपाल सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध  लगाइसकेको छ ।

नयाँ प्रजातिका कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जबसम्म यस रोगको नेपालमा भ्याक्सिन उपलब्ध हुँदैन, त्यतिन्जेलसम्म हामीले सावधानी अपनाउनुपर्ने देखिन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...