प्रधानमन्त्री कप : बागमतीको लगातार दोस्रो जित, सुदूरपश्चिम १८० रनले पराजित

229

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको बागमती प्रदेशले लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

बागमतीले दिएको ३ सय रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको सुदूरपश्चिमका सुरुका चार जना ब्याट्सम्यान शून्य रनमा आउट भए ।

नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले रन बनाउन सकेन ।

बागमतीका रामनरेश गिरीको ४, नन्दन यादवको २ तथा विपिन आचार्य, दिपेश श्रेष्ठ र तिलक भण्डारीको नाममा समान एक–एक विकेट रह्यो ।

यसअघि, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रनको योगदान दिए । बँस्कोटाले ९४ बलको सामना गर्दै २ छक्का र १० चौकाको मद्धतमा ८४ रन बनाए ।

सामान्य सुरुवात गरेको बागमतीका लागि पहिलो विकेटको रुपमा आकाश थापा १३ रन बनाउँदै भोजराज भट्टको बलमा क्याच आउट भए । यस्तै, पूर्व राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आदिल खानसँग ४४ रनको साझेदारी गर्दै टोलीको स्कोर ६० रनसम्म पुर्याए । खड्का २० तथा खान ६३ रनमा आउट भए ।

यसैगरी, बागमतीको कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्य समान ३२–३२ रन बनाउँदै नारायण जोशीको बलमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले ३, सन्तोष भट्ट र भोजराज भट्टले समान २–२ तथा विनोद लामाले एक विकेट हात पारे ।

प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टोली सहभागी रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब गण्डकी प्रदेश, प्रदेश नम्बर एक र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...