बिबिएल २०२० : होबार्ट ६ विकेटले विजयी, सन्दीप दोस्रो पटक विकेटविहीन

187

क्यानबेरा । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । सोमबार भएको खेलमा दोस्रो स्थानमा रहेको सिड्नी थन्डर्सलाई ६ विकेटले पराजित गरेको हो ।

थन्डर्सले दिएको १ सय ७८ रनको लक्ष्य होबार्टले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै ६ विकेटको जित हासिल गरेको हो । होबार्टको जितमा बेन म्याकडर्मोटले ९६ रनको योगदान दिए । ५६ बल खेलेको म्याकडर्मोटले ५ छक्का र ८ चौका प्रहार गरेका थिए । उनी शतक पुरा गर्नबाट चार रनले चुके ।

यस्तै, डेविड मलानले ४२ तथा पिटर ह्याण्ड्सकोम्बले अविजित २१ रनको पारी खेले । खराब सुरुवात गरेको होबार्टका प्रारम्भिक ब्याट्सम्यान डिआर्ची सर्ट ६ तथा विल ज्याक्स शून्य रनमा आउट भए ।

यसअभि, क्यानबेरास्थित मनुका ओवलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थन्डर्सले निर्धारित २० ओभरमा १ सय ७७ रन बनाएको थियो ।

थन्डर्सका साम बिलिङ्सले ५०, एलेक्स हेल्सले २९, उस्मान खवाजाले २७ तथा लक्की फर्गुसनले २३ रन बनाए ।

होबार्टका स्कट बोलान्डले ४ तथा नाथान एलिसले एक विकेट लिए । सन्दीप लामिछाने भने आजको खेलमा पनि विकेटविहीन रहे । चार ओभर बलिङ गरेका सन्दीपले २८ रन दिए ।

जितसँगै होबार्ट अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको सिड्नी सिक्सर्स ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै, रनरेटका आधारमा थन्डर्स दोस्रो र मेलबर्न स्टार्स तेस्रो स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...