मेलबर्न । अष्ट्रेलियमा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० अन्तर्गत मेलबर्न स्टार्स विजयी भएको छ । शुक्रबार भएको खेलमा मेलबर्नले एडिलेड स्ट्राइकर्सलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
१ सय ८० रनको लक्ष्य पछ्याएको स्ट्राइकर्सले १४.२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन बनाएको थियो । एडिलेडका म्याट रेन्शाँले २०, जोनाथन वेल्सले १८ तथा ज्याक विदराल्डले १० रन जोड्नुवाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।
मेलबर्नका आडम जाम्पाले ५, जाहिर खान र ग्लेन म्याक्सवेलले समान २-२ विकेट लिए ।
यसअघि, मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।
मेलबर्नका आन्द्र्रे फ्लेचरले अजआउट ८९, ग्लेन म्याक्सवेलले ३७, कार्लोस ब्राथवाइटले २० तथा मर्कूस स्टोइनिसले १३ रनको योगदान दिए ।
जितसँगै, मेलबर्न अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एडिलेड छैटौँ स्थानमा रहेको छ । लिग तालिकामा सिड्नी शीर्ष स्थानमा रहेको छ । थन्डर्स दोस्रो र पर्थ तेस्रो स्थानमा रहेका छन् ।