प्रचण्ड नेपालद्वारा संयुक्त शुभकामनासँगै अपिल, ‘संविधानको रक्षा गर्न एकजुट भएर लागौँ’

322

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संयुक्त रुपमा माघे सङ्क्रान्तिको शुभकामना दिएका छन् । बिहीबार एक शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले माघे सङ्क्रान्तिको शुभकामना दिएका हुन् ।

‘थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकताअनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ’ शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमबारे सचेत गराउँदै सामाजिक दूरी कायम गर्न सन्देशमार्फत आग्रह गरिएको छ, ‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौँ ।’

शुभकामना सन्देशमा समसामयिक राजनीतिक प्रशंग पनि जोड्दै संविधानको रक्षा गर्न आह्वान गरिएको छ । सन्देशमा भनिएको छ, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...