चार पूर्वप्रधानन्यायाधीशले दिएको वक्तव्यप्रति सञ्चारमन्त्रीको आपत्ति

237

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् । मन्त्री गुरुङले सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित तुल्याउने गरी पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गरेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतका न्यायाधीशलाई न्याय निरुपणमा प्रभावित तुल्याउने गरी पूर्व प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने गरी जारी गर्नु भएको संयुक्त वक्तव्यप्रति आपत्ति व्यक्त गर्दछु, तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान, कानून र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएका पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्धामा त्यसो गर्न मिल्दैन ।’

मन्त्री गुरुङले न्याय क्षेत्र आफै सक्षम र सवल हुँदाहुँदै यसलाई कमजोर बनाउने गरी न्यायमूर्ति भइ सकेका पूर्व प्रधानन्यायाधीशबाट संविधान, कानून विपरित खालका वक्तव्य आउनु खेदजनक छ भने । उनले पूर्व प्रधानन्यायाधीशको कानून विपरीत र नैतिकता भित्र पनि नपर्ने यस्ता खालका वक्तव्यको भ्रममा नपर्न पनि सबैलाई अपिल गरे ।

उनले राजनीतिक दलहरु र विभिन्न समूहहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको पनि दोहोर्याए । मन्त्री गुरुङले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानेमा विश्वस्त हुन पनि पटक पटक आग्रह गरे ।

त्यस अवसरमा उनले सबै जाति, भाषा र समुदायको हितका लागि पत्रकारहरुले कलम चलाउने विश्वास पनि व्यक्त गरे । मन्त्री गुरुङले राष्ट्रको हितमा केन्द्रीत भएर काम गर्दा सबैको हित हुने स्पष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...