अपहरित दुई चिनियाँ नागरिकको उद्धार, अपहरणको आरोपमा दुई चिनियाँसहित चार जना पक्राउ

203

काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो ।

काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पुस १९ गते अपहरणमा परेका दुवैजनालाई बिहीबार घाइते अवस्थामा उद्धार गरिएको थियो । अपहरणकारीको कुटपिटबाट दुवैजनाको हातखुट्टामा गम्भीर चोट लागेको छ ।

उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताएका छन ।

अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । अपहरणको कारण खुलेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अपहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना पक्राउ परेका छन् । बयानपछि पक्कै पनि कारण खुल्नेछ ।’

नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अपहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ ।

घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् ।

उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले लि विपिङ र लि जियाजिङलाई अपहरण गर्ने कार्यमा सघाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...