एडिलेड । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० अन्तर्गत एडिलेड स्ट्राइकर्स विजयी भएको छ । मंगलबार भएको खेलमा एडिलेडले मेलबर्न रेनेगेड्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
एडिलेड ओवलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली एडिलेडले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।
एडिलेडका ज्याक वेदराल्डले ५१, यान गिब्सनले नटआउट ४३, म्याट रेन्शाले ३५ तथा एलेक्स क्यारीले २४ रनको योगदान दिए ।
१ सय ७२ रनको लक्ष्य पाएको रेनेगेड्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।
रेनेगेड्सका म्याकेञ्जी हार्भेले ३४, साम हर्परले ३१, ज्याक फ्रसर म्याकगर्कले ११ तथा ब्युउ वेबस्टरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।
जितसँगै १९ अंक जोडेको एडिलेड लिग तालिकको चौथो स्थानमा उक्लिएको छ भने रेनेगेड्स पुछारमा रहेको छ । तालिकामा २१ अंकसहित सिक्सर्स पहिलो, १९ अंकसाथ थन्डर्स दोस्रो, १८ अंक जोडेको होबार्ट हुरिकेन्स तेस्रो स्थानमा छ । मेलबर्न, ब्रिसबेन, पर्थ स्कोर्चर्स क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका छन् ।