पत्रकार महासंघ सङ्खुवासभाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

271

खाँदबारी । नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रमबीच छैटौँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त साधारणसभा कार्यक्रममा बोल्दै पत्रकार महासंघ प्रदेश नम्बर १ का महासचिव विवेक गौतमले पछिल्लो समय श्रमजिवी पत्रकारहरुको मुद्दा अत्यन्तै पेचिलो बन्दै गएको बताए । उनले ठूला सञ्चारमाध्यमहरुले पत्रकारहरुलाई कोभिड १९ कारण तलबभत्ता नदिने र बिना जानकारी कामबाट निकाल्ने लगायतका श्रम शोषण गर्ने गरेकाले श्रमजिवी पत्रकारहरुको पेशामा नै संकट आएको स्पष्ट पारे । “कोभिड-१९ का कारण कतिपय पत्रकारहरु पेशाबाट बिमुख भएका छन् । त्यसको अध्ययन अनुसन्धान गरिरहेका छौँ । कामबाट ननिकाल भनिरहेका छौँ र आवश्यकता अनुसार समन्वय समेत गरिरहेका छौँ ।” गौतमले भने ।

सबै सञ्चारमाध्यमले बाच्नुपर्छ भनेर नै समानुपातिक विज्ञापन प्रणालीको बारेमा पत्रकार महासंघले कुरा उठाइरहेको उनले स्पष्ट पारे । उनले प्रेस स्वतन्त्रता र अभिब्यक्तिको विषयमा पत्रकार महासंघ डटेर लागिरहेको महासचिव गौतमको भनाइ थियो । पत्रकार समाजको ऐना भएकाले त्यही अनुसार व्यवहार गर्न अनुरोध गर्दै र समाचार सम्प्रेषण गर्दा सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारहरुले संवैधानिक सर्वोच्चता कायम गर्नका लागि निरन्तर लागि रहेको बताए । उनले विधीको शासन स्थापना गर्नका लागि पत्रकारहरु सधैं अग्रपङक्तिमा सद्धैव रहने र रहेको बताए ।  “श्रमजिवी पत्रकारहरुको विषयमा सिंगो पत्रकार महासंघ लागि रहेको छ । प्रदेश पत्रकार महासंघ सकेसम्म कोभिड-१९ कारण संकटमा परेका पत्रकारहरुको सारथी बन्ने प्रयास गरिरहेको छ । थोरबहुत राहत संकलन गरेर विभिन्न जिल्ला तहसम्म पठाएका छौँ ।’‘ उनले भने, “पत्रकारिता पेशामा समस्या नै समस्या छ । तैपनि हामी पत्रकारहरु निरन्तर रुपमा समाचार र सुचना प्रवाह गर्न खटिरहेका छौँ । त्यसैले आमसंचारमा काम गर्ने पत्रकारहरु देशको साँचो योद्धा हो । तर पत्रकारहरुले आफैले आफैलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड छ ।”

त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले वार्षिक साधारणसभा कार्यक्रमले पत्रकारहरुको संस्थागत विकासमा कोशेढुङ्गा सावित होस भन्ने शुभकामना दिए । त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले आजको युग भनेको सुचनाको युग भएको बताए । उनले अहिले सुचना नै पावार भएको बताउँदै जिल्लामा कुनै पनि कार्यालयहरुले सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा उपलब्ध नगराएको खण्डमा प्रमुख जिल्ला अधिकारीले समन्वय गरेर उपलब्ध गराउने अधिकार प्रत्योजन भएकाले आफू सूचनाको हक सम्बन्धी कटिबद्ध रहेको बताउँदै जस्तो अवस्थामा पनि सुचना उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने, “पत्रकारिता मेरो पनि मनपर्ने पेशा हो । यदि म सरकारी जागिर नखाएको भए के बन्थे होला भन्दा पत्रकार नै बन्थे । त्यसैले पनि म प्रेसमैत्री छु ।”

विश्वभर महामारीको संकट र जोखिमको समयमा समेत पत्रकारहरु ज्यानको जोखिम मोलेर निरन्तर रुपमा सूचना प्रवाहमा लागेको देख्दा पत्रकारहरु साँच्चिकै देशको सच्चा नागरिक भएको भन्दै प्रजिअ आचार्यले प्रशंसा गरे ।

सङ्खुवासभा जिल्लामा पत्रकारहरुको एकता र कुनैपनि पत्रकारहरु पार्टीकरण नभएको र राजनीतिभन्दा पर रहेको पाए यो कुरामा आफू अत्यन्तै खुशी रहेको प्रजिअ आचार्यको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले पत्रकारहरुले जस्तोसुकै संकट ब्यहोरेर भएपनि पत्रकारिता पेशालाई निरन्तरता दिनु महान रहेको बताए । पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको पत्रकार महासंघको भवन निर्माणका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको तर सम्पूर्ण स्वामित्व भने जिल्ला समन्वय समितिमा नै रहने समेत उनको भनाइ थियो । सूचना केन्द्रको रुपमा होस् अथवा पत्रकार महासंघको रुपमा पत्रकारहरुलाई आफनै भवनमा बस्ने व्यवस्था मिलाउन हाम्रो पनि दायित्व रहेको जिसस प्रमुख शाक्यको भनाइ थियो ।

जिसस प्रमुख शाक्यले पत्रकारहरुले विधिको शासन र लोकतन्त्र माथि नै संकट आउने गरि संसद विघटन हुदाँ पत्रकारहरु एकढिक्का भएर लाग्नु पर्नेमा जोड दिए । “महासंघको भवन निर्माणका लागि जिल्लाका १० वटै पालिकाहरुसँग समन्वय गरेर भवन निर्माण गर्नुपर्छ । त्यसमा म पनि लागिपर्छु । जिल्लामा पत्रकार महासंघ स्थापना गर्नु हाम्रोसमेत दायित्व हो । नेतृत्व को आउँछ भन्नेसँग हाम्रो सरोकार छैन । जो आएपनि नियमित रुपमा प्रक्रिया अनुसार नेतृत्व फेरबदल भइरहन्छ । आज मैले भवन निर्माण गर्न जग्गा दिए भोली आउने जिसस प्रमुखले पनि काटन सक्दैन किनभने पत्रकार नागरिक समाजको रुपमा रहेको संस्था हो ।” शाक्यले भने ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले नेपाल पत्रकार महासंघ सधैं लोकतन्त्र, नागरिक सर्वोच्चताको पक्षमा, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको पक्षमा रहेको बताए । उनले पत्रकारहरु ०६२/६३ को जनआन्दोलनमा सबैभन्दा पहिले सडकमा उत्रिने संस्था भनेको पत्रकार महासंघ भएको बताउँदै सरकारले संसद विघटन गरेर विधिको शासन र नियमकानुन कुल्चिने काम गरेको बताए । “पत्रकारहरु सधै लोकतन्त्रका लागि कटिबद्ध रहेको छ । पत्रकारहरु नागरिक संगठन हो । त्यसैले पत्रकारहरु विधि र शासन निमोठिने काम भएको अवस्थामा मात्रै एकताबद्ध भएर बोल्ने र अवस्था अनुसार सडकमा समेत उत्रन सक्छ ।” मिश्रले भने ।

आमपत्रकारहरुले आफ्नो बानीव्यवहार र आचरण सुधार गर्नुपर्ने कोषाध्यक्ष मिश्रले जोड दिए । उनले पत्रकारले जे लेखेपनि हुुन्छ, पत्रकार भनेको ठूला मान्छे हुन भन्ने भ्रम नपाल्नसमेत सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष नवीन गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने संस्थाका सचिव अनिश बिष्टले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त वार्षिक साधारणसभा कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णराज शाक्यले स्वागत मन्तब्य राखेका थिए । भने कार्यक्रम महासंघका अध्यक्ष इन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल पत्रकार महासंघको आगामी फागुन ३ गते केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ निर्वाचन गरि नयाँ नेतृत्व छनौट गर्ने निर्णय भइसकेको छ । त्यसैले केन्द्रीय कोषाध्यक्ष मिश्र लगायत प्रदेश महासंघको टोली पूर्वी पहाडी जिल्लाहरु धनकुटा र भोजपुरको साधारणसभा पछि सङ्खुवासभा आइपुगेको हो । प्रदेश नम्बर १ भित्र पाँच वटा जिल्ला मोरङ, धनकुटा, भोजपुर, झापा र उदयपुरमा वार्षिक साधारणसभा सम्पन्न भइसकेको छ ।

साभारः रेडियो सङ्खुवासभाबाट

Share This:
सम्बन्धित खबर
Loading...