बिबिएल २०२० : स्टार्समाथि होबार्ट २१ रनले विजयी, सन्दीपले लिए दुई विकेट

240

होबार्ट । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा होबार्टले मेलबर्न स्टार्सलाई रनले पराजित गरेको हो ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको स्टार्सलाई १ सय ४३ रनमा रोक्दै प्रतियोगितमा होबार्टले पाँचौँ जित हात पारेको हो ।

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ७० रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । म्याक्सवेलबाहेक साम रेनबर्डले १५, निकोलस पूरनले १४ तथा आन्द्रे फ्लेचरले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

होबार्टमा आवद्ध भइ पहिलो खेल खेलेका सन्दीप लामिछाने केहि महंगो साबित भएपनि महत्वपूर्ण दुई विकेट लिए । यस्तै होबार्टका स्कट बोलान्डले ३, नाथान एलिसले २ तथा जोहन बोथाले एक विकेट लिए ।

यसअघि,होबार्टस्थित बेलेराइभ ओवलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली होबार्टले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको होबार्टका लागि डेविड मलानले सर्वाधिक ७५ रनको योगदान दिए । ५६ बल खेलेका मलानले ३ छक्का र ७ चौकाको मद्धमा ७५ रन जोडेका थिए । यस्तै, बेन म्याकडर्मोटले ३१, कोलिन इन्ग्रामले २६ तथा डिआर्ची सर्टले १२ रनको पारी खेले ।

मेलबर्न स्टार्सका बिल्ली स्टेनलेकले ३ तथा ग्लेन म्याक्सवेल र साम रेनबर्डले समान एक/एक विकेट लिए ।

स्टार्समाथिको जितसँगै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले ७ खेलबाट पाँचमा जित र २ हारसहित १८ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको सिड्नी थन्डर्सको १८ अंक रहेको छ । पराजित स्टार्स पाँचौँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...