काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको पुस ७ र ९ गते बालुवाटारमा बसेकाे केन्द्रीय समितिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदबाट हटाउने लगायत १६ बुँदे निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गर्दै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको हो ।
१. यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा, अग्रणी महिला नेतृ कमरेड साहना प्रधान लगायत कम्युनिष्ट आन्दोलनका सबै अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्दछ । देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सबै ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा उहाँहरुको आदर्शलाई सधैभरि दृढतासाथ अनुशरण गरिरहने संकल्प गर्दछ ।