प्रतिनिधि सभा विघटनको विरुद्धमा जसपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
जसअनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, बैठकले संसद अधिवेशन आव्हान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।