दक्ष जनशक्तिको अभाव हुँदा सञ्चालनमा आएन आइसियू

207

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शय्याको आइसियू कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियू कक्ष सञ्चालनमा समस्या भएको हो ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

मंसिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियूका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए । उनले भने, “आइसियू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आइसियू सञ्चालनमा समस्या छ, अस्पतालमा कार्यरत डाक्टर र नर्सले आइसियू सञ्चालनलाई तालीमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।”

आइसियू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...