जबरजस्ती करणी घटना मिलापत्र गराउने कार्यमा सम्लग्न रहेको अभियोगमा ६ जना पक्राउ

161

मोरङ । युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिइ मिलापत्र गराउने कार्यमा सम्लग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ का ५३ वर्षीय मथालु खवास रहेका छन् ।

२१ वर्षीया युवतीलाई २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ का ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त सुरेशलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मंसिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिइ मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित आ-आफ्नै घरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...