गौतमबुद्ध कप मंसिर २७ देखि : तीन टोली सहभागी

191

चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मंसिर २७ गतेदेखि प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक बागमती प्रदेश क्रिकेट संले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिमबागमती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने संघका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

बागमतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते ज्ञानेन्द्र मल्लको बागमती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मंसिर २८ गते बागमती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मंसिर ३० गते हुने अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ । अधिकारीले भने, “खेल राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शकदीर्घा खाली हुनेछ ।” प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने बागमती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । कोभिड–१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...