कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ शय्याको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० शय्याको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया सुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुने बताइन्छ । “हालको इर्मजेन्सी ब्लक ‘इर्मजेन्सी डेडिकेटेड’ छैन, ठाउँसमेत साँघुरो छ”, निर्देशक आचार्यले भने, “इर्मजेन्सी ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला, फार्मेसीसहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गछौँ । ”
अस्पतालले चार तलाको इर्मजेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौथो तलामा हेलिप्याडको अवधारणा छ । पहिलो चरणमा भने एक तला मात्र हुनेछ । अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
गण्डकी प्रदेशको ‘कोभिड डेडिकेटेड अस्पताल’समेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ शय्याको आइसियू क्षमतालाई विस्तार गरी २५ शय्या बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन् । अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २ सय जनाले आकस्मिक उपचार सेवा लिने गरिएको अस्पतालले जनाएको छ । रासस