नेकपा सचिवालय बैठक : प्रम ओली अनुपस्थित, मंसिर २० मा सचिवालय र २१ गते स्थायी कमिटी बैठक

180

काठमाडौं । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मंसिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय बैठक लम्बिएसँगै मंसिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार केहीबेर बसेर बैठक स्थगन भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मंसिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ । आजको बैठकमा अध्यक्ष ओली अनुपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...