छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

154

विराटनगर । प्रदेश एकका विभिन्न स्थानहरुमा सोमबार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवाँ ८ बजे मोरङको ग्रामथान गाउँपालिका-१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भइ दुर्घटना हुँदा सोही ट्याक्टरका सह-चालक बुढिगंगा गाउपालिका-१ का ४० वर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरी मोरङकै विराटनगर महानगरपालिका(९ मा सोमबार दिउँसो साँढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाइकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेकी विराटनगर-१५ की ६० बर्षीया मनकामना झा घाइते भएकी थिइन् । घाइतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमबार दिउँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ वर्षीय छोरा जेनिस धिमाललाई ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते भएका बालकलाई उपचारको लागि अरनिको अस्पताल लगी उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी इलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमबार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर इलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भइ थुम्का भिरबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका-११ का ३० वर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...