काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया फराकिलाे अन्तरले विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा भारतलाई ६६ रनले पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।
३ सय ७५ रनको विशाल लक्ष्य पच्छाएको भारतले सुरुवात राम्रो गरेपनि निरन्तरको अन्तरालमा विकेट गुमाएपछि ३ सय ८ रन मात्र बनाउन सक्यो । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक ९० रनको पारी खेले ।
यस्तै, शिखर धवनले ७४, रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२, कप्तान विराट कोहलीले २१, मोहम्मद शामीले १३, लोकेश राहुलले १२ रन बनाएपनि टोलीलाई हारबाट बचाउन सकेनन् । यस्तै नवदीप सैनीले नटआउट २९ रन जोडे ।
अष्ट्रेलियाका एडम जाम्पले ४, जोस हेजलवूडले ३ तथा मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि, सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियाका फिन्च र स्मिथले शतकीय योगदान दिए ।
अष्ट्रेलियाका लागि राम्रो सुरुवात गरेका कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १ सय ५६ रनको शतकीय पारी खेले । आउट हुन अघि वार्नरले ६९ रन बनाए । यस्तै, फिन्चले १ सय १४ रनको पारी खेले । एकदिवसीय क्रिकेटमा १७औं शतक प्रहार गर्ने क्रममा फिन्चले १ सय २४ बलमा २ छक्का र ९ चौका हिर्काएका थिए ।
पूर्वकप्तान स्टेभन स्मिथले पनि प्रतिबन्धपछिको पहिलो एकदिवसीय खेलमै शतक प्रहार गरेका छन् । ६६ बल खेलेका स्मिथले ४ छक्का र ११ चौकाको सहयोगमा १ सय ५ रन बनाएर मोहम्मद शामीको बलमा बोल्ड आउट भए ।
यस्तै, आक्रामक पारी खेलेका ग्लेन म्याक्सवेलले १९ बलमा ३ छक्का र ५ चौकाको मद्धतमा ४५ रन बनाउँदै आउट भए । मर्कूस स्टोइनिस शून्य तथा मर्नुस लबुसचेन २ रनमा आउट भए । यसैगरी, एलेक्स क्यारी र प्याट कमिन्स १७ र १ रनमा नटआउट रहे ।
भारतका मोहम्मद शामीले ३, जसप्रीत बुम्राह, नवदीप शैनी र युजवेन्द्र चाहलले समान एक/एक विकेट लिए ।