अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

214

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मंगलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि सुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो ।

नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो सङ्ग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थी रु ५०, नेपाली रु १ सय, सार्क रु २ सय र बाह्य पर्यटकलाई रु ५ सय र गार्डेनको लागि रु ३० को टिकट व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण संघले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा फैलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, “उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।”

कोरोना संक्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि सङ्ग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दावी छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...