आजदेखि कक्षा १२ को परीक्षा सुरु : ४ लाख ३२ हजार बिद्यार्थी सहभागी

272

काठमाडौं । कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएकाे छ ।

यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दूरी कायम गर्ने ब्यवस्था मिलाइएको छ ।

परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने ब्यवस्था मिलाइएको र मास्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यसैगरी एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने ब्यवस्था गरिएको छ ।

कुनै परीक्षार्थी कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने ब्यवस्था मिलाइएको छ । परीक्षा हल आधा घण्टा अघिदेखि खुल्ने बोर्डले जनाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गरी ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् ।

परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...