कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : मन्त्री भट्ट

255

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन् ।

नेपाल सितोरियो कराते सतुङ्गल डोजोद्वारा शुक्रबार चन्द्रागिरीमा आयोजित ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताएका हुन् । “देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ”, उनले भने । मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । खेलकूद क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भए आगामी दिनमा परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।

चन्द्रागिरी नगरपालिका–१५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले देशको विकास र समृद्धिका लागि सरकारले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताए । सतुङ्गल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। सोही अवसरमा मन्त्री भट्टले मुलुकको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...