अज्ञात समूहले वाना–खाँदबारी सडकखण्डमा राखेको बम निष्क्रिय

175

खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए ।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम बिहीबार बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए ।

बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ ।

खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ ।

चन्द कार्यकर्ताले पछिल्लो समय सङ्खुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...