कोरोना संक्रमणबाट काभ्रेमा दुई जनाको मृत्यु

124

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणका कारण बुधबार काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार ८७ वर्षीय पुरुष मधुमेह तथा निमोनियाका कारण अस्वस्थ भई कात्तिक २४ गते अस्पतालमा भर्ना हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८४ वर्षीय पुरुषमा उच्च रक्तचाप तथा मिर्गौला खराबी भई उपचारार्थ अस्पताल भर्ना हुँदा सोही दिन कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै मृतक पुरुषको दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाट लगेको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना संक्रमणबाट १० महिलासहित ३३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा आजसम्म दुई हजार २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७९ प्रतिशत अर्थात् एक हजार ७ सय ३४ संक्रमणमुक्त भई घर फर्किएको पोष्टले जनाएको छ । पोष्टका अनुसार सक्रिय संक्रमितमध्ये ३० जना अस्पताल आइसोलेसन र ४ सय १८ जना होम आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच हाल कोरोना सक्रिय संक्रमितमध्ये ४४ प्रतिशत अर्थात् २ सय १६ जना बनेपा नगरपालिकाका हुन् । त्यस्तै धुलिखेल नगरपालिकाका १ सय ३६, पनौतीका ४०, पाँचखालका १३, नमोबुद्धका २७, मण्डनदेउपुरका १९ तथा भुम्लु गाउँपालिकाका तीन, रोशीका पाँच, चौँरीदेउरालीका दुई, बेथानचोकका तीन, तेमाल, महाभारत र खानीखोलाका एक÷एक संक्रमित रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...