बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

134

काठमाडौं । बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोना भएको हो । संक्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपाली फुटबल टोली बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बंगलादेशसित २–० गोलले पराजित भएको थियो भने मंगलबार भएको दोस्रो खेल बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...