सोह्र वर्षपछि पाकिस्तानी जमीनमा इंग्ल्यान्डले टी-२० सिरिज खेल्ने

164

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)  प्रतिबन्ध फुकुवा पछि पाकिस्तानमा क्रमशः विदेशी टाेलीले खेल्ने चासाे बढाउँदै गइरहेकाे छ । यसैबीच इंग्ल्यान्डका पुरुष क्रिकेट टोलीले पाकिस्तानमा अर्को वर्षको अक्टोबरमा दुई खेलको टी-२० सिरिज खेल्ने भएको छ ।

इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) र पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) बीच भएको सहमति अनुसार इंग्ल्यान्डले अक्टोबर १४ र १५ मा दुई खेलको टी-२० सिरिज खेल्ने भएको हो ।

इसिबीका कार्यकारी प्रमुख टोम ह्यारिसनले भने, “इंग्ल्यान्ड टिमले अन्तर्राष्ट्रिय टी-२० अक्टोबर २०२१ मा पाकिस्तानमा खेल्ने घोषणा गर्नु साँच्चिकै खुशीको कुरा हो । २००५ पाछि इंग्ल्यान्ड टोलीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । यसले दुबै राष्ट्रहरुका लागि महत्वपूर्ण क्षणकाे प्रतिनिधित्व गर्दछ ।”

पिसिबीका प्रमुख कार्यकारी वसीम खानले भने, “अक्टोबर २०२१ मा इंग्ल्यान्डले दुई टी-२० खेल्न पाकिस्तान भ्रमण गरिरहेको छ भन्ने कुराको पुष्टि पाउँदा म खुशी छु । यो १६ वर्षमा उनका पहिलो पाकिस्तान भ्रमण हुनेछ र टेष्ट र एकदिवसीय दुबैको ढोका खोलिनेछ ।”

इंग्ल्यान्डले अन्तिम पटक पाकिस्तानको मैदानमा २००५ मा तीन टेष्ट तथा पाँच एकदिवसीय खेलको सिरिज खेलेको थियो । दुई देशबीचको सिरिज युएइमा हुँदै आएको छ । युएइमा पाकिस्तानले २०१२ र २०१५ मा सिरिजको आयोजना गरेको थियो ।

२००९ मा टेष्ट सिरिज अन्तर्गत दाेस्राे टेष्टकाे तेस्राे दिन स्टेडियम आउदै गरेकाे श्रीलंकाली टाेलीका खेलाडी चढेकाे बसमा आतंककारीले अन्धाधुन्दा गाेली प्रहार गर्दा कप्तान महेला जयवर्दनेसहित ६ जना खेलाडी घाइते भएका थिए । त्यसपछि आइसिसीले पाकिस्तानमा खेल्नलाई प्रतिबन्ध लगाएकाे थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...