नर्सले बिरामीलाई टीका लगाइदिँदा ….

255

चितवन । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको शय्या मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन ।

चितवन मेडिकल कलेज भरतपुरमा सोमबार फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले ।

नर्सहरुले शय्यामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १ सय ५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै शय्यामा पुगेर भाइटीका लगाएर दीर्घायूको कामना गरिएको जानकारी दिइन् । उनले भनिन्, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौँ, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौँ, त्यहीँ रमाऔँ भनेर टीका लगाइदियौँ ।”

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन् । बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिइन् ।

भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिए । अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउँछन् । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ वितरण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...