पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर सुरु गर्‍यो उडान

167

पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहानेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान सुरु गरेको हो ।

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरेको जानकारी दिए । “कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान सुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएका छौँ”, उनले भने ।

उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सहुलियत दिएर उडान गरेको बताए । उनका अनुसार, अहिले पाँच हजार ५ सयमा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ । उनले विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालेको बताए ।

पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जो कोहीका लागि रोजाइको शहर हो । कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखीहरु पोखरामा झुम्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीहरुले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ ।

केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उडेका गल्फ इन्नोभेसन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताए । धेरै पहिलेदेखि उड्ने रहर थियो, कोभिड–१९ का कारणले रोकिएको इच्छा यसैबीच नै पूरा भयो । साहसिक खेलमा रुचि राख्ने श्रेष्ठले यसअघि बञ्जी जम्प, प्याराग्लाइडिङ, जीप फ्लायर, स्विङ, र्‍याफ्टिङ गरिसकेको र अरूभन्दा अल्ट्रालाइट अझ विशेष लागेको अनुभव सुनाए । “अरूभन्दा यसमा बेग्लै अनुभूति भयो, अल्ट्रालाइट तलमाथि गरिहँदा अलिअलि डर र त्यही डर भित्रको अर्को आनन्दले मज्जा लाग्यो, यतिबेला पोखराको मौसम निकै खुलेकाले पनि हिमशृङ्खला र फेवातालका दृश्यलाई निकै नजीकबाट अवलोकन गर्न पाइने उनको भनाइ छ ।

माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेली एयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइटले मात्र उडान सुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर १ सय १० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यहरूलाई समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा उद्योगमन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको हब भएको बताए । यसको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेको सन्दर्भमा हाल विश्वव्यापी रुपमा देखिएको कोरानो भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उनको भनाइ छ ।

“हामी विशेष योजनासहित नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौँ । अचानक कोभिड–१९ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रवर्द्धनात्मक गतिविधि रोकेका छौँ । रासस

Share This:
सम्बन्धित खबर
Loading...