नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै

264

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि शुक्रबार प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसँग १–० गोलले पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बंगलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो ।

नेपाल र बंगलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बंगलादेशको ढाकामा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...