ढल्केबर सबस्टेसन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने

201

काठमाडौं । निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको संक्रमणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो सबस्टेसन ढल्केबर सबस्टेसन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४ सय केभी क्षमताको सो सबस्टेसन बुधबार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई फूल लोडमा चार्ज भएको जनाएको छ ।

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २ सय मेगावाट विद्युत् आदान प्रदानका लागि मार्ग प्रशस्त भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युतसमेत सोही सबस्टेसनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।

उक्त सबस्टेसन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कूल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा उक्त सबस्टेसन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनसमेत ४ सय केभी क्षमताको भएकाले विद्युत् आदान प्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ ।

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेसन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत मार्ग प्रशस्त भएको छ ।

सो सबस्टेसन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

गत वैशाख अन्तिम साता नै सो सबस्टेसन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पुर्‍याउन सकिएको थिएन । पूर्वकार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेसन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि असाध्यै ठूलो महत्वपूर्ण उपलब्ध भएको बताए । विसं २०७५ सालदेखि निर्माण सुरु भएको सो सबस्टेसन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उनले निर्माण सम्पन्न भई सञ्चालनमा आएको भन्दै सरोकार भएका सबैलाई धन्यवादसमेत दिए ।

Share This:
सम्बन्धित खबर
Loading...