बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

152

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिका उनले बंगलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बंगलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाली खेलाडीहरुको गत साता पनि पिसिआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । बंगलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पिसिआर परीक्षण गरिएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...