दिल्लीलाई पराजित गर्दै मुम्बइ बन्यो पाँचौं पटक च्याम्पियन : फाइनलमा दुबै टोलीका कप्तानले खेले अर्धशतकीय पारी

251

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधि डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्सले जितेकाे छ । आइपिएलमा पाँचाैं पटक च्याम्पियन बन्ने क्रममा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्याे ।

मंगलबार राति सम्पन्न आइपिएलकाे खेलमा दिल्लीले दिएकाे सय ५७ रनकाे लक्ष्य १८.४ ओभरमा पुरा गर्दै उपाधिमा पाँचाै पटक कब्जा जमाएकाे हाे । मुम्बइकाे जितमा कप्तान राेहित शर्माले ६८ रनकाे याेगदान दिए । यस्तै, क्वुइन्टाेन डि ककले २०, सूर्यकुमार यादवले १९ रन बनाए । यस्तै, इशन किशनले अविजित ३३ तथा किराेन पाेलार्डले ९ रनकाे पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको दिल्लीका ऋषभ पन्त र कप्तान श्रेयास आयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि टोलीले सम्मानजनक योगफल बनाएको हो । ३८ बलमा २ छक्का र ४ चौकासहित ५६ रन बनाएका पन्त नाथान कोल्टर नीलको बलमा हार्दिक पाण्ड्याको हातमा क्याच आउट भए । यस्तै आयरले नटआउट ६५ रनको योगदान दिए । ५० बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

अघिल्लो खेलमा राम्रो खेलेका मर्कूस स्टोइनिस, शिखर धवन र अजिङ्क्य रहाने सस्तैमा आउट भए । स्टोइनिस शून्य रनमा आउट हुँदा धवनले १५ तथा रहानेले दुई रन जोडे । यस्तै, अक्षर पटेलले ९, शिम्रोन हिटमेयरले ५ रन बनाए ।

मुम्बइका ट्रेन्ट बोल्टले ३, नाथान कोल्टर नीलले २ तथा जयन्त यादवले एक विकेट हात पारे ।

यसअघि आइपिएलमा पाँचौं पटक फाइनल खेलेको मुम्बइले चार पटक उपाधि जितेको थियो भने एक पटक मात्र उपविजेता बनेको थियो । मुम्बइले २०१० मा चेन्नइसँग पराजित हुँदै उपाधि जित्न सकेन भने बाँकी सबै चार वटा फाइनलमा विपक्षीलाई पराजित गर्दै च्याम्पियन बनेको छ । २०१३, २०१५, २०१७ र २०१९ उपाधि उचालेको थियो । दिल्ली भने आइपिएलको फाइनलमा पुग्ने सबैभन्दा पछिल्लो टोली हो ।

विजेता मुम्बइ इन्डयन्सले ट्रफीसँगै नगद १० करोड (भारतीय रुपैयाँ) हात पार्याे भने पराजित दिल्लीले ६.२५ करोड (भारतीय रुपैयाँ) मा चित्त बुझाउन बाध्य भयाे । यस्तै, प्लेअफमा पुग्ने दुई (सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्गलोर) टाेलीले ४.३७५ करोड (भारतीय रुपैयाँ) पाएकाे छ ।

यसैगरी, पर्पल क्याप विजेता कगिसो रबडा (दिल्ली क्यापिटल्स-३० विकेट) र ओरेन्ज क्याप विजेता लोकेश राहुल (किङ्स इलावेन पञ्जाब-६७० रन) ले समान १०-१० लाख हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...